चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । प्रतीक्षा र चाँसोका साथ राजनीतिक दलहरु र बाहिरबाट हेरिएको सो क्षेत्रमा यसअघि दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा खस्किएका छन्।
९ हजार २७९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार २५४ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २ हजार ७२६ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २ हजार ७१७ मत प्राप्त गरेका छन्। यता, गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् ।
८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ४ हजार ८३२ मत पाउनुभएको छ भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् ।
प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन्। यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

