डडेल्धुरामा प्रतिनिधिसभा सदस्य पदका लागि उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो जित हुने बताएका छन् । उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका छन् ।
उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै हुने बताएका हुन् । मंगलबार बिहान उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन् ।
उनले डडेल्धुराका युवाले साथ दिएको भन्दै धन्यवाद दिएका छन् । यस्तै उनले डडेल्धुराका युवा तथा मतदातालाई गा’ली नगर्न पनि आग्रह गरेका छन् ।
‘मैले जिल्लाबाट सम्मानजनक मत पाएको छु । अहिले सामाजिक सञ्जालबाट यहाँका स्थानीयलाई गाली आइरहेको छ । त्यस्तो नगरिदिनुहोला । उहाँहरूले मलाई साथ दिनुभएको हो’, उनले भने । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ ।
चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए । यस्तै उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे ।
‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितजस्तै हो । डराउनुपर्दैन,’ उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुरा बनाउने भनेको सागर ढकाललै हो’, उनले भने ।
उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने बताए ।
“म अहिले पराजित भएँ भने पनि पाँच वर्षपछि फेरि यहीँबाट चुनाव लड्न आउनेछु,” उनले भने । उनले आफूलाई डडेलधुराले स्थापित गरेको पनि बताए ।

