नेकपा माओवादी केन्द्र मंसिर ४ गते सम्पन्न र्निाचनमा कमजोर देखिएको छ । सत्ता गठबन्धनका दलहरु मिलेर लड्दा पनि माओवादी हार्न थालेपछि नेताहरु फायर भएका छन् ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की (राम कार्की) ले काँग्रेसले बेइ’मानी गरेको टिप्पणी गरे । माओवादी र समाजवादीले उम्मेदवारी दिएका अधिकांश स्थानमा काँग्रेस मतदाताले घण्टी र हलोमा मत दिएको उनको भनाइ थियो ।
उनले काँग्रेसबाट धोका भएकाले अब कोर्स करेक्सनमा जानुपर्नेबारे पार्टी नेताहरुका बीचमा अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए । ‘हाम्रा र समाजवादीका उम्मेदवार भएका ठाउँमा काँग्रेसले मत दिएन ।
काँग्रेसले आफ्नो मतलाई गठबन्धनभित्र ल्याउनुको साटो अधिकांश ठाउँमा घण्टी र राप्रपाका उम्मेदवारलाई जिताउन निर्णायक भूमिका खेलेको छ’, उनले भने, ‘ड’राएर परिवर्तनको पक्षमा देखिएको काँग्रेसभित्र लुकेर बसेको पुनरुत्थानवादी मत यसपालि खुलेर परिवर्तनको विपक्षमा देखा परेको छ ।’
यद्यपि निर्वाचन परिणाम र आगामी नीतिबारे औपचारिक छलफल गरेर निस्कर्षमा पुगिने कार्कीले बताए । उनले काँग्रेस–एमालेबाहेकको मोर्चा ‘थर्ड फ्रन्ट’ बनाएर जानुपर्छ भन्ने बहस यसअघि नै उठेको भए पनि नेतृत्वले त्यसलाई महत्व नदिएका कारण यस्तो अवस्ता आएको टिप्पणी गरे ।
‘त्यसरी गएको भए परिवर्तन पक्षभरको मत माओवादीले पाउन सक्थ्यो । माओवादीले रिभ्यु गरेन भने अस्तित्वमै प्रश्न उठ्छ’, उनले भने । फरक प्रसंगमा उनले जनादेशले सबै धाराका कम्युनिष्टहरुलाई मिल्न निर्देश गरेको उल्लेख गरे ।
‘हाम्रा सबै अन्तर्राष्ट्रिय मित्र र शुभचिन्तकहरुले कम्युनिष्ट घटकहरु मिल्न भनिरहेका थिए’, कार्कीले भने, ‘कम्युनिष्टहरु मिल भन्ने जनदेश आएको छ ।’

