मंसिर ४ गते सम्पन्न चुुनावमा यसपटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जित हात पारेको छ । काठमाडौँ २, ६, ७ र ८ मा रास्वपाले बिजय हासिल गरेको छ । त्यस्तै, ललितपुर ३ मा पनि रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की बिजयी भएकी छन् ।
काठमाडौँबाहिर पनि रास्वपा चम्किएको छ । समानुपातिक मतमा पनि रास्वपा माओवादी केन्द्रभन्दा अगाडि छ । अबको संसदमा रविले कम्तीमा २० सांसदमार्फत आफ्नो प्रतिनिधित्व गर्ने पक्कापक्की भइसकेको छ ।
चितवन २ मा भारी मतान्तरसहित सभापति रवि लामिछाने विजयी भए । यता, राजनीतिक वृतमा भने नेपाली कांग्रेसका महामन्त्री गगन थापा फ्याक्टर हाबी भएको चर्चामा छ ।
कतिपय घटनाक्रमले रविलाई गगनले साथ दिएको पुष्टि गर्छन् । रविले चितवन २ मा ४९ हजार २६४ मत ल्याएर एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गरेका छन् भने चितवन १ मा रास्वपाकै उम्मेदवार हरि ढकालको मतान्तर फराकिलो बन्दै गइरहेको छ ।
एक वर्ष अगाडि भएको महाधिवेशनमा भारि मतले महामन्त्री चुनिएका गगनले त्यसलगत्तै मिसन पीएम नामको अभियान चालेका थिए । आफू हरहालतमा प्रधानमन्त्री बन्ने अठोट राखेका गगनले कम्युनिस्ट शक्तिलाई साइजमा ल्याउने र आफ्नै पार्टी कांग्रेसभित्र आफ्नो प्रभाव बढाउने रणनीतिसँगै रविलाई माथि ल्याउन सहयोग गरेको चर्चा कांग्रेसभित्रै चुलिएको छ ।
एउटा घटनाक्रमले यसको पुष्टि गर्छ । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेल र २ का उम्मेदवार उमेश श्रेष्ठले गगनलाई पटक(पटक चितवन आएर गठबन्धनको पक्षमा बोलिदिन आग्रह गरेका थिए । गठबन्धनका शीर्ष नेताहरु सभामा जाँदा गगन चुनावी सभामै देखिएनन् ।
पार्टीभित्र हावी हुन पनि पाइने, कम्युनिस्टलाई साइजमा राख्न पनि पाइने र राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाउन पाइने त्यसपछि मात्र प्रधानमन्त्री हुने बाटो सहज गर्ने रणनीतिमा गगनले रविलाई साथ दिएका हुन् ।
चितवन १ मा रास्वपाका हरि ढकालको जित सुनिश्चित जस्तै छ भने २ मा रविले बाजी मारिसकेका छन् । रविले आफ्नो पार्टी निर्णायक ढंगले उदाउने र ठूला दलमा पनि नयाँ नेतृत्व आएदेखि सरकारमा सामेल हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्ति गगनलक्षित नै हो ।
गगनले रविसँग गोप्य तालमेल गरेका रहेछन् भन्ने पुष्टि अर्को घटनाक्रमबाट पनि हुन्छ । काठमाडौँका दशवटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले चारवटामा बिजय हासिल गर्यो । बाँकी ५ वटामा राम्रै मत ल्यायो । तर गगनले बिजय हासिल गरेको क्षेत्र नम्बर ४ मा रास्वपाले उम्मेदवारी नै दिएन ।
कतिपय स्रोतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम अवस्थामा यसअघि लडेको चितवन क्षेत्र नम्बर ३ छोडेर गोर्खा जानुमा गगनकै यही रणनीतिले काम गरेको बताउँछन् । आफू प्रधानमन्त्री बन्ने अवस्था आएमा रास्वपा र माओवादी केन्द्रलाई सजिलै मनाउन सक्ने गगनले आंकलन गरेका छन् ।

