एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको दाबी गरेका छन् । झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने,‘ स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’ स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय राजधानीमै ठूला भनिएका पार्टीहरूलाई धक्का दिएको छ ।
काठमाडौं उपत्यकाका १५ मध्ये ५ मा यस पार्टीले जित हात पारेको छ । काठमाडौं-२ बाट सोबिता गौतम, काठमाडौ-६ बाट शिशिर खनाल, काठमाडौं-७ बाट गणेश पराजुली, काठमाडौं-८ बाट विराजभक्त श्रेष्ठले जितेका छन् ।
त्यस्तै ललितपुर-३ मा पनि रास्वपा उम्मेदवार डा। तोसिमा कार्की विजयी भएकी छिन् । चितवन-२ मा पार्टी सभापति निकटतम् प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतले विजयी भएका छन् । त्यस्तै सुनसरी-१ र चितवन-१ मा पनि रास्वपा उम्मेदवार अग्रस्थानमा छन् । समानुपातिकतर्फ पनि रास्वपा तेस्रो स्थानमा रहेको छ ।

