एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। दुवैबीच आज झण्डै आधा घण्टा फोन संवाद भएको हो ।
ओलीले गोरखा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्। स्रोतका अनुसार उक्त फोन संवादका क्रममा ओलीले यो निर्वाचनको परिणाम चिन्ता गर्ने किसिमको आएको बताउँदै यसले देशमा अस्थिरता ल्याउन सक्ने उल्लेख गरेका थिए।
प्रचण्डका प्रेस संयोजक सू्र्य किरणले दुई नेताबीच फोन संवाद भएको बताउँदै त्यसक्रममा बधाई साटासाट भएको उल्लेख गरेका छन्। ‘उहाँहरु दुई नेताबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट भएको छ’, उनले भने, ‘त्यस क्रममा उहाँहरुबीच सबै निर्वाचन परिणाम आइसकेपछि छलफल गर्ने कुरा भएको छ।’
स्रोतका अनुसार ओली यो निर्वाचनको नतिजाबाट अलिक चिन्तित मुद्रामा देखिएका छन्। ओलीले मिलेर जाने विषयमा कुरा गरे पनि प्रचण्डले अलिक पछि कुरा गरौँ भनेका छन्।
‘प्रचण्डले पछि कुरा गरौँला भन्नु भएको छ’, स्रोतले भन्यो, ‘चुनावी नतिजा अलिक चिन्ताजनक आएको ओलीले दोहोर्याउनु भएको छ। यो परिणामले देशलाई अस्थिरता तिर लाने उहाँको सरोकार थियो।’

