राष्ट्रिय स्वतन्त्र पार्टी अब प्रतिनिधिसभामा निर्णायक शक्ति बन्ने देखिएको छ । हालसम्म प्रत्यक्षतर्फ रास्वपाले ७ सिट हात पारेको छ । चितवन २ मा रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।
उनले ४९ हजार २ सय ६४ पाए । उनीसँग नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३४ हजार २ सय ८१ मतान्तरले हारे । श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याए ।
यो रास्वपाले पाएको मतले सकारात्मक सन्देश दिएको बताउँछन् लामिछाने । ‘एकएक मतले जिम्मेवारी दिएको छ । सकारात्मक रूपमा लिएर जिम्मेवारी पूरा गछौँ,’ उनले भने ।
समानुपातिकतर्फ पनि रास्वपा तेस्रो स्थानमा छ । तीन लाखभन्दा बढ्ता मत ल्याएर थ्रेस होल्डको सीमा पनि कटाएको छ । अर्थात् औपचारिक रूपमा अब राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
मतको अन्तिम परिणामको प्रतीक्षामा छ, रास्वपा । आफ्नो पार्टीले जित्ने सिट र अरू दलले पाउने सिटको हिसाब गरेर मात्र रास्वपा सरकारमा जाने वा नजाने निर्णय गर्ने मनस्थितिमा छ । ‘अहिले नै निर्णय गरेको छैन । अहिले मिहिन ढंगले हेरिरहेका छौँ,’ लामिछानेले भने, ‘देशभरको सबै परिणाम आएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं ।’
अन्य पार्टीको नतिजा हेरेर पनि सरकारमा सहभागी हुने वा नहुने निर्धारण गर्ने संकेत रास्वपाले दिएको छ । ‘के गर्दा मुलुकको हित हुन्छ त्यो भूमिका निभाउँछौँ । अन्य दलको अवस्था हेरौँ,’ उनले भने ।
अहिले नै फुरुक्क हुने स्थिति नरहेको बताउँछन् रास्वपाका प्रवक्ता डा.मुकुल ढकाल । ‘हामीबिना पनि सरकार बन्न सक्छ । अहिले नै फुरुक्क हुने स्थिति छैन । पहिले कस्तो नम्बर आउँछ, त्यसपछि निर्णय लिन्छौँ,’ उनले भने ।
कांग्रेसबाट नयाँ अनुहार प्रधानमन्त्री बनेमा सरकारमा सहभागी हुन सक्ने रास्वपानिकट नेताहरू बताउँछन् । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । थापा प्रधानमन्त्री बनेमा रास्वपाले सहयोग गर्ने स्थिति देखिन्छ ।
अर्कोतर्फ, रास्वपाका सभापति लामिछाने सरकारको नेतृत्व गर्ने सम्भावनालाई नकार्दैनन् । ‘राजनीति सम्भावना नै सम्भावनाको ठाउँ हो । नेतृत्व गर्ने सम्भावना पनि छ,’ उनले भने, ‘अहिले कुनै निर्णय गरेको छैन ।’ यदि पुरानै नेता प्रधानमन्त्रीमा दोहोरिने अवस्था आएमा रास्वपा प्रतिपक्षमा बस्ने सोचमा छ । लामिछानेका शुुभचिन्तक र उनी निकट राजनीतिक वृतमा उनी नै प्रधानमन्त्री बन्ने बहस गरेका छन् ।
रास्वपा सरकारमा जाने नजाने भन्ने निर्णय गर्न जनताको राय सुझावसहित मत पनि लिने तयारी गरेको छ । अनलाइन भोटिङबाट सरकारमा जान हुने वा नहुने, केमा बढी मत आउँछ, त्यहीअनुसार निर्णय लिने योजना रास्वपाको छ । ‘

