माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर हारेकी छिन्। कञ्चनपुर १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनी नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन्।
तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्।
यस्तै‚ नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले तीन हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार ९०६ मत प्राप्त गरेका छन्।
०७४ मा प्रदेशमा जितेका तामाङ यसपटकको चुनावबाट संघीय संसद् उक्लिएका हुन्। तामाङ ०७० सालको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउदसँग हारेका थिए। त्यसबेला साउदले १३ हजार ४१५ मत ल्याउँदा तामाङले ९ हजार ६७६ मत पाएका थिए।
०७४ मा भने तामाङ प्रदेशसभामा गए। क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा १ मा वाम गठबन्धनका साझा उम्मेदवार तामाङ प्रदेश सांसद चुनिँदै सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीसम्म भए।
एमाले विभाजनमा उनी नेकपा एकीकृत समाजवादीतिर लागे। निर्वाचनको पूर्वसन्ध्यामा फेरि एमालेमै फर्किएका थिए, तामाङ। त्यसपछि क्षेत्र नम्बर १ मा एमालेले उनैलाई उम्मेदवार बनाएको थियो।
तामाङको जन्म २०३० भदौ ३० गते धादिङमा भएको थियो। हाल उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–३ का बासिन्दा हुन्। आमा, श्रीमती र दुई छोराछोरी गरेर उनको पाँच जनाको परिवार छ।
स्नातक तहसम्म अध्ययन गरेका तामाङ विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भएका थिए। वि।सं।२०४३ मा ५ कक्षामा पढदादेखि नै राजनीतिमा लागेर विभिन्न आन्दोलनमा उनी सहभागी भएका थिए।
०४७ मा अनेरास्ववियुको जिल्ला सदस्य भएर उनले संगठित राजनीति सुरु गरेका थिए। ०६६ मा एमाले कञ्चनपुरको जिल्ला सचिव भएका थिए, तामाङ। त्यसपछि उनी २०६९ मा एमाले कञ्चनपुरको अध्यक्ष भए।
२०५४ सालमा उनी तत्कालीन कालिका गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए। २४ वर्षको कलिलो उमेर अध्यक्ष जितेपछि तामाङ चर्चामा आएका थिए।

