भारतीय कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न थालेपछि वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको भविष्य संकटमा पर्ने भएको छ । फागुनमा १ हजार ४ सय २४ जना नेपाली गएको साउदी अरबबाट ५० हजार कामदारको मागपत्र साउदीस्थित नेपाली दूतावासमा आएको केही समयअघि सार्वजनिक भएको थियो ।
कोरोना संक्रमणले ग्रस्त भारतीय नागरिकहरु नेपालबाट साउदी अरब उडे साउदी अरबले नेपाललाई पनि नकरात्मक सूचीमा राख्न सक्ने खतरा रहेको बताइएको छ । कोरोना भाइरसको दोश्रो लहर बढेपछि साउदी अरबले गत फेब्रुअरी महिनाको पहिलो सातादेखि भारतसहित संयुक्त राज्य अमेरिका, इजिप्ट, पाकिस्तान, अर्जेटिना, जर्मनी आयरल्याण्ड, फ्रान्स, इटली, पोर्चुगल, इण्डोनेशिया, जापान, दक्षिण अफ्रिका, बेलायत, स्वीडेन, लेवनान, यूएई र टर्कीबाट सिधा उडान रोकेको छ ।
साउदी अरबरको सिभिल एभिएसन अथोरिटीले परिस्थितिमा सुधार आएमात्र आगामी मे १७ तारेखपछि हाल प्रतिबन्ध लगाइएका मुलुकहरुसँगको उडान प्रतिबन्ध हटाउने बताएको छ । साउदी अरबले भारतका जहाज अवतरणमा प्रतिबन्ध लगाएपनि हालसम्म नेपालबाट हुने उडानमा प्रतिबन्ध छैन ।
त्यसको फाइदा उठाउँदै रोजगारीमा साउदी अरब जाने भारतीय नागरिकहरुले नेपाली विमानस्थल प्रयोग गरिरहेको बारे समाचारहरु बाहिरिएको छ । साउदी अबरले भारतलगायत उडान प्रतिबन्ध लगाएका देशमा १४ दिनभित्र यात्रा गरेका व्यक्तिहरूलाई आफ्नो देश प्रवेशमा समेत रोक लगाएको छ ।
त्यसले गत फेब्रुअरी अघि विदामा घर आएका भारतीय कामदारहरुलाई साउदी अरब जान समस्या आएको हो । साउदी अरबले भारतीय यात्रुवाहक उडानमा प्रतिबन्ध लगाएपछि भारतले भने आफ्ना नागरिकहरुलाई साउदी अरबबाट भारत फर्काउन रित्ता जहाज पठाइरहेको छ ।
तर, साउदी अरब जानुपर्ने भारतीय कामदार नेपालबाट उडिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि साउदी अरबले फेब्रुअरीबाटै नयाँ स्वास्थ्य निर्देशन जारी गर्दै होटल, पार्टी प्यालेस, ब्याँक्वेट, रेष्टुरेण्ट जस्ता स्थानहरुमा कार्यक्रम तथा भोजभतेर गर्न बन्देज लगाएको छ ।