पूूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुुनावअघि नेकपा (एकीकृत समाजवादी) कुनै हालतमा राष्ट्रिय पार्टी नबन्ने ठोकुवा गरेका थिए । ओलीले विभिन्न कार्यक्रमहरु तथा सञ्चारमाध्यममा यस्तो ठोकुुवा गरेका छन् ।
प्रतिनिधि सभामा १० वटा सिटमा जित निकालिसकेको एकीकृत समाजवादीले पछिल्लो समय समानुपातिकमा पनि तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको छ।
समानुपातिकतर्फको मतगणनामा सुरूमा निकै पछि परेको एकीकृत समाजवादीले शनिबार बिहानसम्म ६७ लाख २२ हजार ५५२ मत गणना हुँदा १ लाख ६७ हजार ६९१ अर्थात् २.४९ प्रतिशतभन्दा बढी मत पाइसकेको छ ।
९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एकीकृत समाजवादीलेले १.५८ प्रतिशत् अर्थात १४ हजार ३ सय ७३ मत मात्र पाएको थियो। १९ लाख १२ हजार ७ सय ७२ सदर मत गणना हुँदा एकीकृत समाजवादीले ३२६८५ अर्थात् १.७० प्रतिशत मत पाएको थियो।
अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एकीकृत समाजवादीले १।८ प्रतिशत मत पाएको थियो।
४८ लाख ६१ हजार ९१ मत गणना हुँदा १ लाख मत कटाएको एकीकृत समाजावादीले पछिल्लो समय १९ लाख मत गणनामा ६७ हजार मत आफ्नो पक्षमा पारेको देखिन्छ।
यो ट्रेन्ड हेर्दा देशभरिको मतगणना हुँदा एकीकृत समाजवादीले मत बढाउँदै लगेको देखिन्छ। प्रत्यक्षतर्फ पनि सहरमाभन्दा सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा धेरै सिट जितेको एकीकृत समाजवादीको मत अहिलेकै ट्रेन्डमा बढ्दै गए राष्ट्रिय पार्टी बन्ने देखिन्छ। यस्तो अवस्थामा ओलीको अनुमान फेल हुनेछ ।

