नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा फेरि मतदानको माग गरेका छन्। मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग निरन्तर पछि पर्दै आएका उनले यस्तो माग गरेका हुुन् ।
मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा वि’रोध जनाएर फेरि मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन्।
‘सुरुमै खसेकोमध्ये ५ मत गायब भएको पाइएपछि मैले विरो’ध जनाएको हो। खसेकोभन्दा धेरै गणना कसरी भयो?’, उनले भने । खनालले शनिबार गणना भएको ६ वटा केन्द्रको मतपेटिकामा पनि खसेको भन्दा २६६ बढी मत पाइएको बताएका छन्।
‘शनिबार पनि ६ वटा बाकसबाट मतपत्र निकाल्दा मुचुल्का गरिएको भन्दा २६६ बढी मत भेटियो। त्यसैले यहाँ अनियमितता भयो’, उनले भने, ‘यसमा मेरो कुरा भनेको रिइलेक्सनमा जानुपर्छ भन्ने हो। म पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्दैछु।’
उनले धाँध’लीका एकपछि अर्को प्रमाण भेटिएको भन्दै अब एकीकृत समाजवादीका प्रतिनिधिहरुले हस्ताक्षर नगर्ने बताएका छन्। इलाम १ मा अहिले एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्। बस्नेतले १८ हजार ५४२ मत ल्याइसकेका छन्। खनालले १६ हजार ८७ मत ल्याएका छन्।

