नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि फायल चाङ्गका चाङ्ग थन्किएका छन्। अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। यसअघि खुलेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा परेको आवेदनले पनि यसलाई पुष्टि गर्छ।
यो कम्पनीमा आवेदन दिनेको संख्या १८ लाख नाघेको थियो। जुन हालसम्मकै उच्च हो। अर्कोतर्फ डिम्याट खाता खोल्नेहरू पनि बढिरहेका छन्। मंसिर १७ गतेसम्म २२ लाखले खाता खोलेकामा अहिले ३३ लाख नाघेको छ। अहिले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि १६ कम्पनी पाइपलाइनमा छन्।
तीमध्ये १२ वटा कम्पनी जलविद्युत कम्पनी छन् भने २ वटा लघुवित्त र २ वटा अन्य कम्पनी छन्। बोर्डले सम्पूर्ण प्रक्रिया पुरा गरेपछि मात्रै निष्कासनको स्वीकृति दिन्छ। बोर्डले स्वीकृति दिएको दुई महिनाभित्र आइपिओ निष्कासन हुने गर्छ। बोर्डले स्वीकृति दिएर आइपिओ जारी गर्न बाँकी रहेका कम्पनी भने हाललाई छैनन्।
आइपिओ खोलेको रुरु जलविद्युत आयोजनाको नतिजा आउन बाँकी छ। संभवत आगामी शुक्रबार कम्पनीको आइपिओ बाँडफाँड हुनेछ। कुल ५ करोड ८८ लाख ५४ हजार १८५ कित्ता आइपिओ निश्कासनको लागि बोर्डमा आवेदन परेको छ। अंकित मूल्य १ सयका दरले कुल ५ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर निष्कासन हुनेछ।
साहस ऊर्जा र भोटेकोसी जलविद्युतजस्ता ठूला आयोजना पनि पाइपलाइनमा छन्। साहस ऊर्जाः यो कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) आयोजना निर्माण गरिरहेको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निश्कासन गर्नेछ।
बिक्री प्रबन्धकका रूपमा एनआइबिएल एस क्यापिटलले जिम्मा लिएको छ। सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको ८६ मेगावाटको आयोजना निजी क्षेत्रबाट बनिरहेको आयोजनामध्येकै ठूलो हो। सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युतको दर उच्च हुने कम्पनीको दावी छ।
मध्य भोटेकोसी जलविद्युत कम्पनीः कम्पनीले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति मागेको हो। बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ। कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ। चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।
न्यादी हाइड्रोपावरः कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि गरी कुल ४० लाख ५० हजार कित्ता आइपिओ निश्कासनको अनुमति मागेको छ। कम्पनीले लमजुङको न्यादी खोलाबाट विद्युत उत्पादन गर्नेछ। ३० मेगावाट क्षमता रहेको कम्पनीको मुख्य स्टक होल्डर बुटवल पावर कम्पनी हो। बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल हो।
हिमालयन हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ। त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ।
मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निश्कासनका लागि आवेदन दिएको छ। साम्लिङ पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख ३० हजार कित्ता आइपिओ जारी गर्नेछ। बिक्री प्रवन्धकमा एसबिआई मर्चेन्ट बैंक नियुक्त भएको छ।
सयपत्री हाइड्रोपावरले ९ लाख कित्ता आइपिओ जारी गर्नका लागि आवेदन दिएको छ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल छ। न्यादी हाइड्राेपावर ४० लाख ५० हजार कित्ता जारी गर्नका लागि बिक्रि प्रवन्धकमा ग्लाेबल आइएमइ क्यापिटल छनाैट गरेको छ।
बलेफी हाइड्रोपावरको ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्दैछ। अपर सोलु हाइड्रो इलेक्ट्रिकले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्नेछ। जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता र अर्को मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपिओका लागि बोर्डमा आवेदन दिएका छन्।
डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको छ। टिभी च्यानल प्रदायक डिसहोमको यो सेयर निश्कासनका लागि बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छनौट गरेको छ। अन्य समूहको यो कम्पनी हाल सूचीकृतमध्ये फरक प्रकृतिको कम्पनी भएकाले आकर्षणका रूपमा लिइएको छ।
सिइडिबी हाइड्रो फण्ड कम्पनीले २५ लाख १८ हजार २३० कित्ता र ग्रीन भेन्चरले ६२ लाख ५० हजार कित्ता आइपिओका लागि आवेदन दिएको छ। ग्रीन भेन्चर जलविद्युत कम्पनी हो। आइपीओ भर्न र इडिआइएस गर्न मेरो सेयर खुलेन, यसो गर्नुहोस्
सीडीएसएसीका सीइओ पूर्णप्रसाद आचार्यका अनुसार यो समस्या समाधानका लागि नयाँ व्यवस्था गरिएको छ । जसअनुसार अब मेरो सेयर लग इनमा समस्या भएमा इन्कोग्निटो विन्डो वा प्राइभेट विन्डोबाट लगइन गरी सहज ढंगले आइपीओ भर्न वा इडिआइएस गर्न सक्छन् ।
इन्कोग्निटो विन्डो भनेको जस्तै तपाईंले गुगल क्रोम वेवसाइट खोल्नु भएको छ भने तपाईंले त्यसको दाँयातर्फ ३ वटा डट (थोप्लो) देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गर्नु भयो भने तपाईंले न्यू इन्कोग्निटो विन्डो हेर्न सक्नुहुन्छ । वा कुनै ब्राउजर खोलिसकेपछि किबोर्डमा कन्ट्रोल प्लस सिफ्ट प्लस एन टाइम गर्नु भयो भने इन्कोग्निटो विन्डो खुल्छ ।
दोस्रो तरिका भनेको तपाईंले पहिले खोलिरहेको वेव ब्राउजरभन्दा नयाँ ब्राउजर खोलेर पनि मेरो सेयर प्रयोग गर्न सक्नुहुन्छ । यो विधि अपनाउँदा मेरो सेयर लग इन गरी आइपीओ भर्न वा इडिआइएस गर्न कुनै समस्या नहुने सीडीएससीको भनाइ छ ।