सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको लागि सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित भएको छ । सुदूरपश्चिम प्रदेशसभामा जम्मा सिट संख्या ५३ छन् । जसमध्ये प्रत्यक्षतर्फ ३२ निर्वाचन क्षेत्र हुन् । हालसम्मको निर्वाचनको नतिजा अनुसार प्रदेशसभामा नेपाली कांग्रेस ११ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ ।
नेकपा माओवादी केन्द्रले ७ सिट जित्दै दोस्रो स्थान ओगटेको छ भने नेकपा एमालेले ४ सिट जितेको छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई सिटमा जित निकालेको छ । सत्ता गठबन्धनले हालसम्म प्रदेशसभामा प्रत्यक्षतर्फ २० सिटमा जित निकालेको हो ।
यससँगै प्रदेशसभामा सरकार गठनको लागि सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित भएको छ । सरकागर गठनको लागि २७ सांसदको आवश्यक पर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फ बाट नै २० सिट जितेपछि बहुमत पुग्ने निश्चित भएको हो ।
सत्ता गठबन्धनको प्रदेशसभामा बहुमत पुग्ने निश्चित भएसँगै सुदूरपश्चिमको भावी मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका खगराज भट्ट बन्ने पक्का पक्की नै भएको छ । निर्वाचन भन्दा अगाडि प्रतिनिधिसभामा डडेल्धुराबाट माओवादीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने र प्रदेशसभामा कांग्रेसले खगराजलाई समर्थन गर्न निर्णय भएको थियो ।
आफूलाई सहयोग गर्न खगराज तयार भएपछि देउवाले उनलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने घोषणा गरेका थिए । खगराज पनि मुख्यमन्त्री पद पाउने आश्वासनपछि देउवाको लागि भोट माग्दै हिडेँ । २०६४, ७० र ०७४ गरी लगातार संघीय निर्वाचनमा देउवासँगै पराजित भएका भट्ट यस पटक देउवाकै सहयोगमा प्रदेशसभामा विजयी भएका छन् ।
कञ्चनपुर क्षेत्र नं २ (ख)बाट निर्वाचित बहादुर सिंह थापा पनि मुख्यमन्त्रीका दाबेदार छन् । यसभन्दा अघि पनि माओवादी केन्द्रले मुख्यमन्त्री पद पाएकाले अबको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने सहमति जुटे थापालाई मुख्यमन्त्रीका लागि अघि सार्ने नेता एनपी साउँदले चुनावी सभामा भनेका थिए ।

