नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका वडा नम्बर ३ ले आफ्नै उम्मेद्वारलाई हराएको भन्दै केही नेताहरुलाई कारवाहीका लागि सिफारिस गरेको छ । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका वडा कार्य समितिको कार्यालय वडा नम्बर ३,नेचा सोलुखुम्बुले पार्टीका प्रतिनिधि सभाका उम्मेदवार बलबहादुर केसीको पराजयमा भूमिका खेलेको भन्दै ३ जना नेताहरुलाई कारवाहीका लागि सिफारिस गरेको हो ।
कारवाहीका लागि सिफारिसमा पर्नेहरुमा वर्तमान जिल्ला कार्यसमिति सदस्य चन्द्र प्रसाद आचार्य, निवर्तमान पालिका सभापति नीर कुमार शर्मा कट्टेल, वडा कार्यसमिति सचिव शम्भु प्रसाद घिमिरे छन् ।
‘यस वडाको समितिको आयोजनामा बसेको बैठकमा हालै सम्पन्न भएको निर्वाचनको गम्भीर ढङ्गबाट समीक्षा गरियो । साथै, पार्टीका केही जिम्मेवार साथीको अन्तरघातका कारण पार्टीका प्रतिनिधि सभाका उम्मेदवार बलबहादुर केसीको पराजय भएको भन्ने समीक्षा पश्चात पार्टीका केही जिम्मेवारीमा रहेका साथीहरुलाई जिम्मेवारीबाट तथा पार्टीले पार्टीले प्रदान गरेको क्रियाशीलता समेत खारेज हुने गरी कारबाहीका लागि माथिल्लो समितिमा सिफारिस गर्ने निर्णय गरिएको छ’, नेपाली कांग्रेस नेचा सल्यान गाउँपालिका ३ नम्बरका वडा सभापति होम प्रसाद बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


