नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुुनै हालतमा महामन्त्री गगन थापालाई प्रधानमन्त्री बन्न नदिने भएका छन् । महामन्त्री थापालाई संसदीय दलको नेतामा रोक्नका लागि देउवाले महाधिवेशनमा साथ दिएका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रयोग गर्न लागेका हुुन् ।
यस पटक कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा तीन जनाको प्रतिस्पर्धा हुनेछ। सभापति देउवा आफैं मैदानमा हुनेछन् भने पौडेल र थापा पनि रहनेछन्।
प्रधानमन्त्रीको उम्मेदवारका लागि कांग्रेसमा संसदीय दलको नेता अनिवार्य बन्नुपर्ने वैधानिक प्राबधान छ। चुनावअघिदेखि गगन थापाले प्रधानमन्त्रीका लागि अभ्यास गरेको घोषणा गरिसकेका छन्।
उनलाई युवा नेता विश्वप्रकाश शर्मालगायतको सहयोग छ। तर देउवाको राजनीतिक कार्डका कारण थापाले संसदीय दलको नेतामा जीत निकाल्न मुस्किल छ। कांग्रेस सांसदको अंकगणित पनि देउवाको पक्षमा नै देखिएको छ।
समानुपातिकमा बसेका नेता विमलेन्द्र निधिले संसदीय दलमा देउवाका पक्षमा मतदान गर्ने खुलाइसकेका छन्। देउवाको नै स्पष्ट बहुमत भइसकेको र जीत निकाल्न कठिन नरहेको बताएका निधिले प्रतिस्पर्धामा को आउँछन् भन्ने तय भइनसकेको पनि प्रतिक्रिया दिएका छन्।
कांग्रेसका निर्वाचित सांसद र समानुपातिकको सूचीअनुसार पनि गगनका पक्षमा संसदीय दलको बहुमत खस्ने सम्भावना कम रहेको आँकलन गरिएको छ।
देउवा पक्षमा प्रत्यक्ष निर्वाचित ३२ सांसद छन्। देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, प्रदीप पौडेल, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठोैर, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, दीपक खड्का, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की देउवा पक्षका सांसद हुन्।
यसमा केही सांसद तलमाथि हुने र गगनका पक्षमा उभिए पनि समानुपातिकतर्फ देउवा नै हावी हुन सक्ने अनुमान गरिएको छ। समानुपातिकमा देउवातिर शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा। प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि खुल्ने निश्चित छ।
गगन थापाका पक्षमा भने डा. शेखर कोइराला, थापा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी र राजु थापाले प्रत्यक्षमा चुनाव जितिसकेका छन्। यो संख्या संसदीय दलको निर्वाचनका लागि पर्याप्त होइन।
समानुपातिकतर्फ वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल आउने सम्भावना भए पनि गगन थापाले संसदीय दलमा असहज प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

