नेपाल टेलिकमकी निर्देशक प्रतिभा वैद्यले डेटा कनेक्टिभिटीको आवश्यकतालाई कोभिडले आभाष गराएको बताएकी छन् । सोमबार टेकपानाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस श्रंखलाअन्तर्गत पहिलो कार्यक्रममा बोल्दै निर्देशक वैद्यले नेपालकाे सन्दर्भमा अझै डेटा नै इन्टरनेटकाे पहिलाे विकल्प रहेकाे भनाइ राखिन् ।
‘दुर्गम क्षेत्रमा भिस्याटबाट सेवा दिइरहेका छाैं । लगानीको हिसाबले त्यहाँ करोडौंको लगानी हुन्छ । तर, आम्दानी हजारमा हुन्छ । सबैतिर एकनास सेवा पुर्याउन सरकारले नीतिमा सहजीकरण गर्न पर्यो,’ उनले भनिन् । सुगम र दुर्गम क्षेत्रमा जानेलाई फरक सुविधा र नीति बनाउन आवश्यक रहेकाले यसतर्फ सरकारकाे ध्यान जानुपर्ने भनाइ उनले राखिन् । ‘खरिद प्रक्रियाका लागि पनि कानूनी अड्चन धेरै छ ।
भनेको समयमा सामाग्री किनेर दिनसक्ने अवस्था छैन,’ उनले भनिन् । त्यसैगरी उनले नेपालको ग्रामीण क्षेत्रमा सञ्चालित ब्रोडब्यान्ड इन्टरनेट परियोजनाका लागि सरकारले सेवाप्रदायकलाई सब्सिडी दिन आवश्यक रहेको पनि भनाइ राखिन् । ‘आजको समयमा मोबाइल धेरै छ, फिक्स्ड कम छ । यो हिसाबले सरकारले हामीलाई फेसिलिटेड गरी सुविधा दिन पर्यो,’ उनले भनिन् ।