मंसिर ४ गते सम्पन्न चुुनाव सकिएपछि नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री फुुर्सदमा देखिएकी छिन् । सोमबार नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र एमालेका नेता खिमलाल भट्टराईसँग झाँक्रीबीच जम्काभेट भयो।
काठमाडौं फर्किने क्रममा भैरहवा विमानस्थलमा जम्काभेट भएको हो। पूर्वसहकर्मीहरुसँग भेटेपछि फेसबुकमा फोटो हाल्ने झाँक्रीले लेखेकी छिन्, ‘तस्बिरमा सन्देश छ।’
एमाले विभाजनको बेला झाँक्री माधव नेपाल नेतृत्वको पार्टीमा लागेको थिइन्। पहिलो पटक प्रत्यक्षमा निर्वाचन लडेकी झाँक्री गुल्मी २ मा एमालेका गोकर्ण विष्टसँग पराजित भइन्।
उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गर्न थालेका छन्। उसो त चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।
यद्यपि, रामकुमारीले सार्वजनिक गरेको उक्त तस्बिरले बाम एकताबारे कुनै सन्देश दिन खोजेको देखिदैन। ‘उनीहरू चुनाव सकेर काठमाडौं फर्किन लाग्नुभएको रहेछ।
म काठमाडौंबाट फर्किएर गुल्मीका जनतालाई धन्यवाद दिन जाँदै थिएँ। भैरहवा विमानस्थलमा भेट भएपछि तस्बिर लिउँ भनेर यसै लिएको मात्रै हो,’ उनले भनिन् ।


