मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतरिणाम आउन बाँकी केही स्थान मात्रै छन् । हालसम्म कांग्रेसले ५३ सिट जितिसकेको छ भने एमालेले ४२ र माआवादी केन्द्रले १७ सिट जितेको छ । त्यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ३ र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जितेको छ ।
यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबैभन्दा बढी मतान्तरले निर्वाचित भएका छन् । चितवन–२ बाट चुनाव लडेका रविले ४९ हजार २६४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८३ मत मात्रै ल्याए । रवि र उमेशबीचको मतान्तर ३४ हजार ३८१ छ । त्यहाँ एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत मात्रै ल्याए ।
लामिछानेपछि नेपाल मजदुर किसान पार्टीका सचिव रहेका प्रेम सुवालले सबैभन्दा बढी मतान्तरले चुनाव जिते । भक्तपुर–१ बाट निर्वाचित सुवालले ४२ हजार ७६१ मत पाउँदा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याए । त्यहाँ सुवाल ३० हजार ७९३ को भारी मतान्तरले निर्वाचित भएका हुन् । उनको विपक्षमा भएका सबैको मत जोड्दा पनि सुवालले पाएको जति मत पुग्दैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट भारी मतान्तरले निर्वाचित भए । उनी सबै भन्दा बढी मत पाउने उम्मेदवार पनि हुन् । तर मतान्तरको हिसाबले भने ओली तेस्रो बने । ओलीले ५२ हजार ३१९ मत पाउँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याए । उनीहरुबीचको मतान्तर २८ हजार ५७६ छ ।
अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा २६ हजार ५८८ को भारी मतान्तरले रुकुम पश्चिमबाट निर्वाचित भए । त्यहाँ उनले ३९ हजार ५४९ मत ल्याउँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याए । माओवादीकै अर्का उपमहासचिव वर्षमान पुन २५ हजार २२९ मतान्तरले रोल्पाबाट विजयी भए । उनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत मात्रै ल्याए।
मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरे । त्यहाँ शर्माले ४८ हजार ६३१ मत पाउँदा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका ढकालले २५ हजार ८९५ मत मात्रै ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार मत पाइन् ।

