एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आलोचना गरेको केही समय नबित्दैँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कडा जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले ओलीलाई आक्रोशित जवाफ दिएका हुन् ।
ओलीले आज एक कार्यक्रममा सुकुम्वासी बस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका थिए । उनले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् ।
ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरो’प साहले लगाएका छन् ।
‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’ बालेनले भनेका छन् ।
सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आ’रोप छ । उनी थप्छन्, ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ?
हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अति’क्रमण रोक्ने कार्यको तपाईँले वि’रोध गर्नु असामान्य होइन । ‘अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला, तर कसैका विरु’द्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

