कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने बताएका छन् । हालै झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले मंगलबार काठमाडौंस्थित महामन्त्री थापा निवास रातोपुल बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सीधै थापानिवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए।
उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए। महामन्त्री थापा पटक—पटक सांसद भइसकेको र मन्त्री भएर अनुभव पनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।
उनले भने, ‘सांसद पहिल्यै भइसक्नुभएको हो, पटकपटक। मन्त्री भएर अनुभव पनि हासिल गरिसक्नुभएको हो। अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाईं अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडि बढ्नुस् भन्नका लागि म काठमाडौं आएको हो।’

