नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति भएँ मज्जाले कार्यसम्पादन गर्न सक्ने बताएका छन् । विगतमा प्रधानमन्त्री राम्ररी चलाएको भएकाले राष्ट्रपतिको भूूमिका पनि राम्रोसँग निभाउन सक्ने उनको दाबी छ ।
‘प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुुन् । अब शेरबहादुर देउवा प्रधानमन्त्री र झलनाथ खनाल राष्ट्रपति हुने हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘त्यो मेरो व्यक्तिगत दाबीभन्दा पनि मुलुकको आवश्यकता र दलहरुको निर्णयमा भर पर्छ ।
किनभने राष्ट्रपति भनेको मुलुकको अभिभावक, एकताको प्रतीक र संविधानको परिपालक हो । विगतमा हामीले परिपक्वता हासिल गरेको व्यक्तिलाई बनाउन सकेनौं र देश दु’र्घटनामा गयो । पार्टीले मूल्यांकन गरेर कुरा अघि सार्यो भने म विचार गर्छु । विगतमा प्रधानमन्त्री राम्ररी चलाएकै हुँ । अब राष्ट्रपति भएँ भने पनि मज्जाले कार्यसम्पादन गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ ।’
उनले साझा नीति र कार्यक्रम बनाएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । खनालले भने, ‘अब एकै दलले बहुमत ल्याउन सम्भव छैन । त्यसैले संयुक्त सरकारको संस्कृति विकास नगरी धरै छैन । अब के गर्नेका लागि सरकार बनाउने भन्ने स्पष्ट हुनुपर्छ । अनि मात्र त्यो सरकार दिगो हुन सक्छ ।’
ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको पनि खनालले औंल्याए । उनले थपे, ‘ठूलो दलका नाताले कांग्रेसलाई प्रधानमनत्री माग्ने हक हुन्छ । तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन । लेनदेन पनि हुन सक्छ । कांग्रेसको साटो माओवादीले पनि प्रस्ताव ल्याउन सक्छ । तेस्रो पार्टी हामी छौं । जनताले त मिल भनेर आदेश दिइसकेका छन् ।’

