सुकुम्बासी बस्तीमा हात हालेपछि मेयर बालेन्द्र शाहको चर्को आलोचना भइरहेको छ । काठमाडौं महानगरपालिका वडाध्यक्षको बैठकले समन्वय गरेर मात्रै सुकुम्बासी बस्ती हटाउने निर्णय गरेको छ।
बुधबार बिहान बसेको बैठकमा वडाध्यक्षहरुले मेयरलाई प्रक्रियागत कुरामा प्रश्न उठाएपछि समन्वयपछि मात्रै हटाउने अभियान थाल्ने निर्णय भएको हो।
महानगरका वडाध्यक्षहरुको बैठकमा उनीहरुले समन्वयविनै डोजर लगेर गएको विषयमा मेयर बालेन्द्र शाहलाई प्रश्न उठाएका थिए। निर्वाचनपछि सरकार नबनेको अवस्थामा समन्वयविनै डोजर लगेर जान नहुने अधिकांश वडाध्यक्षले भनाइ राखेका थिए।
बैठकमा वडाध्यक्षहरुलाई जवाफ दिँदै मेयर बालेन्द्र शाहले डोजर लगेर भत्काउन नभई घोषणा गर्न मात्रै गएको बताएका थिए। वडाध्यक्षले डोजर लगेर गएको विषयमा प्रश्न गर्दा अन्य प्रयोजनका लागि डोजर लगेको बालेन्द्रको जवाफ थियो।
मेयर बालेन्द्रले बैठकमा सुकुम्बासीले हति’यारसहित आतं’क मच्चाउन खोजेको बताए। वडाध्यक्षहरुले भने समन्वय नहुँदा आफ्नो सुरक्षाको लागि सुकुम्बासीले त्यस्तो गर्नसक्ने धारणा राखेका थिए।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले सरोकारवाला निकायसँग थप सहकार्य र समन्वय गर्नुपर्छ भन्ने बैठकमा निर्णय भएको बताए।
‘घाइते नगर प्रहरीको स्वास्थ्यलाभको कामना र सरोकार निकायसँग सहकार्यसँगै समन्वय गर्नुपर्छ भन्ने निर्णय भयो’, प्रवक्ता मानन्धरले भने।
काठमाडौं महानगरले हटाउनुपर्छ भन्ने पक्षमै रहेको तर प्रक्रियागत रुपमा जानुपर्छ भन्नेमा वडाध्यक्षहरुले धारणा राखेका थिए।

