अभिनेता सलोन बस्नेत र एयरहास्टेस करिश्मा केसी बिबाह बन्धनमा बाँधिएका छन् । सोही अवसरमा नायिका पूजा शर्मा र सलोनका पिता शोभित बस्नेतलाई सञ्चारकर्मीले विवाह सम्बन्धित केही प्रश्न सोधेका थिए ।
पूजालाई विवाहबारे के टिप्स दिन चाहनुहुन्छ भन्ने प्रश्नमा शोभितले पूजा र युद्धको जोडी सोचेभन्दा राम्रो भएकाले केही टिप्स दिन जरुरी नभएको बताए ।
उनले भने, ‘एक त विवाह भनेको के कसरी गर्ने भनेर सोचेर गरिने कुरा होइन । सलोनको विवाह पनि हामीले यसरी गर्छौ भनेर कुनै प्लान गरेका थिएनौँ । त्यसैले यो टिप्स र प्लान भन्ने कुरा नै आवश्यक छैन ।
हामीले कसरी विवाह गर्ने भन्दा पनि कसरी जिन्दगी राम्रो र सरल हुन्छ भन्ने सोच्ने हो । सायद पूजाले त्यो पनि सोच्नुपर्दैन । किनकि युद्ध भनेको यस्तो गज्जबको मान्छे हो कि उसलाई पाउनु नै हाम्रो लागि गौरवको कुरा हो र पूजाको भाग्य ।’
पूजा आफ्नो बहिनी र बस्नेत परिवारको चेली भए तापनि युद्ध पूजाभन्दा विशेष लाग्ने बस्नेतले बताए । नायक आकाश श्रेष्ठसँगको सम्बन्ध चिसिएको केही समयपश्चात् पूजा र युद्धको प्रेम सम्बन्ध बाहिरिएको थियो ।

