धरानका मेयर हर्क साम्पाङ भ्वाइस अफ नेपालप्रति आकर्षित भएका छन् । टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्डमा उनले प्रतिस्पर्धीका लागि भोट मागेपछि चर्चा सुुरु भएको छ ।
भ्वाइस सुरु हुनेबेला उनले फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए । यसपटक उनले प्रतिस्पर्धी सविना योङहाङका लागि भोट मागेका छन् ।
बुधबार बिहान फेसबुकमार्फत सविनाको तस्वीर सेयर गर्दै मेयर साम्पाङले उनीप्रति समर्थन जनाएका छन् । उक्त पोस्टमा धेरैले सविनालाई जितको अग्रिम शुभकामना दिएका छन् ।
सविना टिम राजेशको समूहबाट प्रतिस्पर्धा गरिरहेकी छिन् । लाइभ शोमा दर्शकले मतदान गर्न पाउने भएपछि सामाजिक सञ्जालमा आफूलाई मनपर्ने ट्यालेन्टको पक्षमा जिताऊ अभियान पनि सुरु भएका छन् ।
द भ्वाइस अफ नेपाल शुक्रबार र शनिबार हिमालय टीभीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

