निर्वाचनको अन्तिम मतरिणाम आउन लागेसँगै नेकपा फुटेपछि ब्यूुतिएको नेकपा माओवादी केन्द्र र एमालेबाट फुुटेको एकीकृत समाजवादी मिल्न लागेका छन् । शीर्ष नेताहरू पार्टी एकताको पहल गर्न लागेका छन् ।
स्रोतका अनुसार एकता हुँदा पार्टीको नाम पनि परिवर्तन हुनेछ । नयाँ पार्टीको नाम नेकपा समाजवादी हुन सक्ने पनि बताइएको छ । नेताहरुले पार्टीको नाम र चुनाव चिह्नसमेतको विषयमा छलफल गरिरहेको श्रोतले जनाएको छ।
यो एकता प्रक्रियामा वामदेव गौतम, बाबुराम भट्टराई, घनश्याम भुसालसहितका नेताहरूलाई जोड्नेबारेमा पनि प्रयास भएको जनाईएको छ । त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रयास गरिरहेको श्रोतको दावी छ।
जानकारी अनुसार भुसाललाई एकीकृत पार्टीको महासचिव बनाउन सकिने विषयमा समेत छलफल भएको जनाईएको छ। स्रोतका अनुसार चुनाव चिह्न कलम राख्ने विषयमा पनि छलफल भएको छ । दुई पार्टीबीच एकता गर्ने विषयमा पुरानै छलफल भएको तर अहिले ठूलो प्रगति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् ।
३१ साउनमा माओदी केन्द्रले एकीकृत समाजवादीसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट १ भदौमा यी दुई पार्टीबीच एकता गर्ने एकीकृत समाजवादीले निर्णय गरेको थियो । दुवै पार्टीले ४ सदस्यीय संयोजन समिति बनाउने निर्णय गरेका थिए । तर, चुनावको मुखमा विवाद हुने भएपछि प्रकृया रोकिएको थियो।

