नेपाली कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने दाबी गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने बताएका हुुन् ।
आज सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री कार्कीले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताए ।
उनले मतदाताले आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिए । विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए ।

विहीबार बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरेका छन् ।
वि।सं। २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मिएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा रहेका छन् ।
वि.सं. २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनले २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।
यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

