चुुनावमा काठमाडौँ ४ का मतदातासँग भोट माग्दा नै प्रधानमन्त्री बन्ने भनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दाबी कायमै राखेका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै पनि थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पूरा गर्ने बताए ।
‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु’ उनले भनेका थिए–‘मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’
गगनको यो चाहानामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाईरहेका छन्। गगन थापाले हिम्मत गरे आफु प्रश्तावक वस्ने उनको भनाई छ। गगन थापालाई संसदिय दलको नेता तथा प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालाई नै प्रश्तावक वनाउने तयारीमा आफु लागेको उनले बताएका छन्।
तर, गगनको प्रधानमन्त्री बन्ने चाहाना यसै पटक पुरा हुने सम्भावना भने कम छ। उनी वाहेक धेरै नेता अहिले प्रधानमन्त्री बन्ने दौडमा छन् । त्यसमाथि उनी पक्षकै नेता शेखर कोईरालाले पनि गगन थापा प्रधानमन्त्री बन्नेमा आशंका ब्यक्त गरिसकेका छन् ।
विहिवार विराटनगर महानगरपालिका ९ स्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता कोईरालाले कसैले चाहाना राख्दैमा प्रधानमन्त्री वन्ने सपना पूरा नहुने वताए । उनको यो भनाई अन्य नेतासहित गगनप्रति पनि लक्षित थियो। प्रधानमन्त्री वन्न सवैभन्दा पहिला संसदिय दलको नेता हुनु पर्ने र त्यसका लागि संख्या पुष्टि गर्नु पर्ने उनको भनाई थियो।
गगनलाई पनि संसदिय दलको नेता बन्न संख्याको कमी हुन सक्छ। त्यसमाथि देउवा पक्षका नेताहरु एक रटले ‘सभापतिले इच्छा ब्यक्त गरेपनि अरुको प्रधानमन्त्री बन्ने सम्भावनै छैन’ भन्दै हिड्नेले पनि प्रधानमन्त्री देउवा नै बन्ने सम्भावनालाई बल पुर्याईरहेको छ।
त्यसो भए गगन थापाको ब्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नमा कांग्रेसका नेताहरु भन्छन्–‘गगन थापा उपप्रधानमन्त्री सहित गृह वा अर्थ मन्त्रालयको जिम्मेवारीमा रहन सक्छन्।’ गगनलाई गृह वा अर्थ मन्त्रालयको जिम्मेवारी दिएर देउवालाई नै प्रधानमन्त्री बनाउने तयारी आन्तरिक रुपमा चलिरहेको कांग्रेस नेताहरु बताउँछन् ।
राजनीतिक विश्लेषकहरु पनि गगन थापा युवा सेन्टिमेन्ट प्रयोग गरेर सकेसम्म प्रधानमन्त्री नै बन्ने र त्यो सम्भव नभए पावरफुल मन्त्रालयमा जाने तयारीमा रहेको हुन सक्ने वताउँछन्।
तर, गगन निकट श्रोतले भने यस पटक गगन थापा मन्त्री बन्न नजाने जानकारी दिएको छ। मन्त्री बन्न नजाने भन्नुको अर्थ प्रधानमन्त्री नै बन्ने सोचमा थापा रहेको स्रोतको दावी छ।

