सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमालेलगायतसँग ‘सरकार गठनका लागि छलफल गर्न सकिने र विकल्प खुला राखिने’ निर्णय गरेसँगै कम्युनिस्ट दलको नेतृत्वमा नया“ सरकार बन्न सक्ने सम्भावना देखिएको छ ।
माओवादी केन्द्रका पदाधिकारीको शनिबार बसेको बैठकले ‘सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै सरकार गठनको कोर्स फेरिने’ सम्भावना देखिएको हो । जसअनुसार एमाले र माओवादी केन्द्रकै नेतृत्वमा नया“ सरकार बन्नसक्ने सम्भावना बढेको हो ।
एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन प्रक्रिया थालेमा त्यसको नेतृत्व ‘एमाले अध्यक्ष केपी शर्मा ओली वा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नसक्ने तथा पालैपालो प्रणालीमा जानसक्ने वा त्यस्तो सरकार कम्युनिस्ट नेतृत्वको हुनसक्ने’ बताइएको छ ।
सत्तारूढ गठबन्धन जारी रहेमा भने त्यसबाट बन्ने सरकारको नेतृत्व कांग्रेसबाटै हुने भएकाले पनि एमाले र माओवादी केन्द्रका केही नेता ‘कम्युनिस्ट नेतृत्वकै सरकार बनाउने’ गृहकार्यमा जुटेका हुन् ।
यस्तो छ अंक गणित
एमाले – ७८
माओवादी केन्द्र – ३२
राप्रपा – १४
जसपा – ११
नागरिक उन्मुक्ति पार्टी तथा अन्य स्वतन्त्रसहित – ५ देखि ७ सिट
माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘कम्युनिस्टबीच एकता कायम गरेर आफू नेतृत्वमै सरकार गठन हुनसक्ने’ बताइसकेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि कम्युनिस्ट सरकारको सम्भावना बढिरहेको बताए ।
उता, एमाले वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङले पनि ‘एमाले र माओवादी केन्द्रबीच छलफल जारी राख्नुपर्ने र कम्युनिस्ट एक हुनुपर्ने’मा जोड दिएका छन् ।
माओवादी केन्द्रले शनिबार बैठकबाटै सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न सक्ने संकेत देखिएको छ ।
राजनीतिक विश्लेषकका अनुसार गठबन्धनबाटै सरकार बनाउने माओवादीको चाहना हुन्थ्यो भने शनिबार विकल्प खुला राख्ने निर्णय गर्नुपर्ने थिएन । तर, माओवादीको यो निर्णय पहिलो चरणमै सत्ता नेतृत्व आफैंले गर्ने रणनीतिसाथ आएको हुनसक्ने विश्लेषण गरिएको छ ।
माओवादी केन्द्रले अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि ‘जसले सहयोग गर्छ, उसैसँग सहकार्य गर्नसक्ने’ संकेत पनि दिएको छ । तर, प्रतिनिधिसभा २ सय ६५ मध्ये बढीमा ३२ सिट मात्रै ल्याउन सक्ने आँकलन गरिएको माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्दा उसमाथि नैतिक प्रश्न त छँदै छ । आजको राजधानी दैनिकमा यो खबर छ ।

