मंसिर ४ को निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुुगेसँगै नेकपा एकीकृत समाजवादीमा आन्तरिक बहस गर्माएका छ । पार्टीका शीर्ष नेताहरु नै पराजित भएको भन्दै विचार मिल्नेसँग तत्काल पार्टी एकता वा गठबन्धन गर्नुपर्ने पार्टीको एक पक्षले बताइरहँदा अर्को पक्ष भने तत्काल पार्टी एकता वा फरक गठबन्धनको सम्भावना नरहेको भन्दै त्यसबारे कुनैपनि प्रक्रिया समेत सुरु गर्न तयार भएको छैन ।
‘निर्वाचन अघि गरिएको गठबन्धनको औचित्य निर्वाचन सकिएसँगै एक हिसाबले सकिएको छ । अव त्यसैलाई निरन्तरता दिइरहनुपर्छ भन्ने छैन’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘नयाँ परिस्थितिमा नयाँ ढंगले र विचार सिद्धान्त मिल्नेसँग सहकार्य गर्दा राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो ।’
ती नेताले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै प्रश्न गरे, ‘अहिलेको गठबन्धनमा चुनावमा पनि त्यति इमान्दारिता देखिएन अनि विचार र सिद्धान्त पनि मिल्दैन भने किन बसिरहरने ? किन विकल्प नखोज्ने ?’
तर सम्मानित नेता झलनाथ खनाल निर्वाचनमा पराजित भएका केही नेताले आक्रोशमा पार्टी एकता वा गठबन्धनको विकल्प खोज्नुपर्छ भनेपनि त्यो क्षणिक आवेशमात्र भएको बताए । उनले पार्टीले लिने विचार र सिद्धान्त स्पस्ट हुनुपर्नेमा विवाद नरहेकोमा आफू सहमत रहेको बताए ।
माओवादीसँग पार्टी एकताबारे पार्टीकै नेताहरूले गरेको चर्चामा कुनै सत्यता नभएको महासचिव वेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिबाट पनि पुष्टि भएको छ ।
महासचिव भुसालले जारी गरेको विज्ञप्तिमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनेर गरिएको प्रचारप्रति कुनै सत्यता नरहेको उल्लेख छ ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौ तर अहिले त्यससम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, समाजवादीले भनेको छ, ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’
नेता मुकुन्द न्यौपाने, उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा छन् । उनीहरु एमाले वा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
केही दिन अघिमात्रै सचिव रामकुमारी झाँक्रीले एमाले नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराईसँग बसेको तस्वीर नै सार्वजनिक गर्दै उक्त तस्विरमा सन्देश रहेको बताएकी थिइन् ।
अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र बेदुुराम भुुसाल लगायतको समूूह भने तत्काल पार्टी एकता नगर्ने मुुडमा छ ।

