गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ । उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० रुपियाँ र डिजेलमा प्रतिलिटर २९ रुपियाँ घटाइएको थियो तर कर समायोजन भएन ।
त्यसपछि असार २० गते मूल्य बढेर आएको भन्दै पेट्रोल प्रतिलिटर दुई रुपियाँ वृद्धि गरी १८१, डिजेल/मट्टीतेलमा नौ रुपियाँ वृद्धि गरी १७२ रुपियाँ र हवाई इन्धनमा पाँच रुपियाँ वृद्धि गरेर १९० रुपियाँ कायम गरिएको थियो । त्यही मूल्य अहिलेसम्म कायम छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ ।
ग्यासबाहेक सबै नाफामा
हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टीतेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ ।
इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ ।
यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपियाँ ४७ पैसा (४८ रुपियाँ ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ ।
राजस्व, ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, पेट्रोलियम बिक्रेतारग्यास कम्पनीको खर्च एवं मुनाफा राखेर निगमले उपभोक्ता मूल्य निर्धारण गर्छ ।
हाल बजारमा पेट्रोल प्रतिलिटर १८१ रुपियाँ, डिजेलरमट्टीतेल १७८ रुपियाँ, हवाई इन्धन आन्तरिक १९० रुपियाँ र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपियाँ रहेको छ । हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा छ रुपियाँ २३ पैसा र डिजेल २४ रुपियाँ ५६ पैसा बढी रहेको छ ।
तीन महिना भयो समायोजन नभएको अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपियाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट रिफाइन तेल खरिद गर्दै आएको छ । आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।