नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री आलोपालो गर्ने सहमति भए पनि पहिले प्रधानमन्त्री को हुने भन्नेमा दुवै पार्टीबीच सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा साढे दुई(दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । तर, दुवै नेताले पहिला आफंै प्रधानमन्त्री हुनपाउनुपर्ने अडान राख्न थालेपछि समस्या भएको बताइएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहमत छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक समीक्षा एवं सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलका नेताले निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेपछि सरकार प्रमुख पदमा भागबन्डा गरेर टुंगो लगाउने सहमति गरेको स्रोतको दाबी छ ।
आगामी सरकारको नेतृत्व गर्न देउवा र प्रचण्ड दुवैले आन्तरिक तयारी तीव्र पारेका छन् । सत्तारूढ गठबन्धनभित्रकै शीर्ष नेताका साथै गठबन्धन बाहिर रहेका साना दलका शीर्ष नेतासँग उनीहरूले छलफललाई तीव्रता दिएका छन् । देउवा र प्रचण्डले दिनहुँ त्यस्ता भेटघाट आफंै गर्नुका साथै आफ्ना विश्वासपात्र नेतामार्फत समेत छलफल चलाएका छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकबाट सरकार निर्माणका लागि सबै राजनीतिक दलसँग छलफल गर्न खुला रहेको भन्दै निर्णय सार्वजनिक भएपछि गठबन्धनका नेता सशंकित भए । तर, निर्वाचनपश्चात् सोमबार पहिलोपटक बसेको सत्तारूढ गठबन्धनको बैठकले सत्तारूढकै नेतृत्वमा संघीय सरकार र प्रदेश सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेका थिए । सोहीअनुसार अब प्रमुख पदमा भागबन्डा मिलाउने काम भित्रभित्रै भइरहेको छ ।
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले एउटा गठबन्धनबाट चुनाव लड्ने र अर्कोतिर बसेर सरकार बनाउनु नैतिक रूपमा ठीक नभएको बताए । उनले सत्तामा गठबन्धनलाई निरन्तरता दिँदा प्रधानमन्त्री र मुख्यमन्त्रीमा आलोपालो हुने बताए । राष्ट्रपतिको हकमा जुन दलले पहिलो पालोमा प्रधानमन्त्री लिन्छ, राष्ट्रपति अर्को दलले पाउनुपर्ने उपमहासचिव बस्नेतले बताए ।

