संसदको सबैभन्दा ठूूलो दल नेपाली कांग्रेससँगै अबको सरकारको चाबी जाने देखिएको छ । जसका लागि नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुुर देउवा हालको गठबन्धनका नेताहरु र आन्तरिक रुपमै तयारी गरिरहेका छन् ।
कांग्रेसले सत्ता गठबन्धन र बाहिरका दलसँग पनि छलफल गरिरहेको छ। जनमत र नागरिक उन्मुक्तिसहितका साना दलका नेताहरुसँग पनि कांग्रेसका नेताहरुले बाक्लो छलफल गरिरहेका छन। सवैभन्दा ठुलो दल भएपनि वहुमत नभएका कारण अन्य दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यतामा कांग्रेस छ।
कांग्रेसको रोजाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत गठबन्धन दलसँग मिल्ने पहिलो प्राथमिकता छ। तर, गठबन्धनको सरकार बनाउँदा पहिलो प्रधानमन्त्री कुन दलबाट को हुनेरु भन्ने टुङ्गो लागेको छैन।
ठुलो दल भएका कारण आफुले नेतृत्व पाउनु पर्ने कांग्रेसको अडान छ भने माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अनौपचारिक रुपमा कांग्रेससमक्ष राखिसकेको छ। सरकारको नेतृत्व नपाए माओवादी प्रतिपक्षमा बस्न तयार हुनुपर्ने नेताहरुले दबाब दिइरहेका छन्।
चुनावमा गठबन्धन गरे पनि सोचेजस्तो परिणाम नआएको, केही ठाउँमा जित्ने उम्मेदवार पराजित भएको भन्दै माओवादीभित्र आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव नेताहरुले अध्यक्ष प्रचण्डलाई दिइरहेका छन्। सत्ताको नेतृत्व नपाए बरु प्रतिपक्षमै बसेर संगठन निर्माण, जनसम्बन्ध बढाउन प्रचण्डलाई सुझाव छ।
जनतातिर नफर्केको, सत्ता निर्माण र सिंहदबार कै वरिपरी घेरिएकोले पार्टी कमजोर भएको माओवादीका पदाधिकारी तहकै नेताहरुको विश्लेषण छ। सरकारको नेतृत्व नगर्दा आफ्ना योजना कार्यान्वयन गर्न नसकिने भएकोले पनि आफैँले लिनुपर्ने माओवादीको अडान कायम रहे कांग्रेसलाई विकल्पतिर डो¥याउन केही नेताहरुले अध्ययन र छलफल थालेका छन्।
कांग्रेस सभापति देउवाले पनि माओवादीले नेतृत्व नछोड्ने अवस्था आए दोश्रो विकल्पको पनि तयारी गरिरहेको श्रोतको दावी छ। उनले गैरकम्युनिष्ट सरकार गठनको गृहकार्य पनि गरिरहेका छन् ।
संसदमा कांग्रेसको ९० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीको १५, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, लोसपा ४, जनमत पार्टी ५ र नागरिक उन्मुक्ति पार्टी मिलेर सरकार बन्ने हिसाव भइरहेको छ। राप्रपा र रास्वपा सरकारमा जाने नजाने प्रष्ट भइसकेको छैन।

