मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ। पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्यायो। १३औं महाधिवेशनसम्म पदाधिकारीमा ६० वर्ष नाघेका नेताको बोलबाला थियो।
तर १४औं महाधिवेशनबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्ला मन्सुरबाहेक ६० वर्षमुनिका नेता पनि पदाधिकारीमा पुगेका छन्। महामन्त्रीमा पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मुलुकले नै आशा र भरोसा गरेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुगेका छन्।
थापा र शर्माको हस्तक्षेपकारी भूमिकाले पार्टीभित्र पछिल्लो पुस्ताको आकर्षण बढ्ने अपेक्षा धेरैको थियो, छ।
कार्यकर्ता र शुभेच्छुकले १४ महाधिवेशनपछि संगठन र पार्टी सञ्चालनको तौरतरिकामा परिवर्तन आउने र पार्टीले विगतका गल्ती दोहोर्याउने छैन भन्ने अपेक्षा राखेका थिए।
पार्टी विधि र विधानअनुसार नचलेको भन्दै नेतृत्वलाई खबरदारी गर्ने पुस्ता नै कांग्रेस सञ्चालनको जिम्मेवारीमा पुगेकाले विधि र विधान पालना हुने धेरैको अपेक्षा थियो। महाधिवेशन भएको एक वर्षमा कांग्रेसको आकार, प्रकार र अवस्था फेरिएको छ तर उसको संगठन सञ्चालन गर्ने तौरतरिका पुरानै ढर्रामा छ।
१४औं महाधिवेशनअघि कांग्रेसले क्रियाशील सदस्यता थप गरेर ४ लाखबाट साढे आठ लाख पुर्याएको थियो। पार्टी संगठन व्यापक विस्तार भएको र कांग्रेसप्रति जनताको आकर्षण बढेको प्रचार गरियो। तर महाधिवेशन भएको एक वर्षभित्र भएका तीन तहका निर्वाचनले कांग्रेस संगठन विस्तार होइन, थप कमजोर भएको पुष्टि गरेको छ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मंसिर ४ मा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामले पार्टी कमजोर भएको देखाएको छ। समानुपातिकतर्फ कांग्रेसले २०७४ सालमा भन्दा अहिले कम मत पायो। अहिले समानुपातिकतर्फ कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत मात्र पाएको छ।
अघिल्लोपटक यो मत ३१ लाख हाराहारीमा थियो। यसपटक नेताहरूले पार्टीको पक्षमा थप १५ लाख मत बढाउने बताउँदै आएका थिए। पार्टी पदाधिकारीमा युवा पुस्ताको उपस्थितिसँगै कांग्रेसमा नयाँ मतदाता र वयस्कहरूको आकर्षण बढ्ने अनुमान गरिएको थियो।
तर सम्पन्न निर्वाचनमा वयस्क मतदाताको रोजाइमा कांग्रेस परेको देखिएन। बरु पुराना मतदाता पनि भड्केको देखिएको छ। जनमत खुम्चिए पनि सत्ता र शक्तिका लागि कांग्रेसको अवस्था भने फेरिएको छ। बालकृष्ण अधिकारीले आजको नागरिक दैनिकमा लेखेका छन् ।

