पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएकाहरुलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ र लुम्बिनीका केही ठाउँमा भने खोपको दोस्रो मात्रा लगाइसकिएको छ । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।
काठमाडौंमा मात्रै १६१ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ५०० बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।