चुुनावको मतरिणाम अपेक्षित नआएर राष्ट्रिय दलसमेत बन्न नसकेपछि नेकपा एकीकृत समाजवादी पार्टीमा तीन धार देखिएका छन् । पार्टीले प्रतिनिधिसभा सदस्यमा १० सिट जितेको छ ।
यस्तोमा एकीकृत समाजवादीलाई नै बलियो बनाएर अगाडि बढाउनुपर्ने पहिलो धार छ। यस्तै, नेकपा माओवादी केन्द्रसँग मिलेर नयाँ वामपन्थी शक्ति निर्माण गर्नुपर्ने दोस्रो धारमा नेताहरु छन्।
त्यसैगरी, एमालेसँग एकता गरेर जानुपर्ने तेस्रो धारको पक्षमा पनि नेताहरु उभिएका हुन्। एक पदाधिकारीका अनुसार अहिलेसम्म सझुाव दिने नेतामध्ये ७० प्रतिशत यही पार्टी अगाडि बढाउनुपर्ने पक्षमा छन्।
उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अहिलेसम्म सुझाव दिनेमध्ये यही पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने मत बलियो छ। त्यस्तै एउटा पंक्ति तत्काल माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा छ।
बाँकी १० प्रतिशत एमालेमै फर्कन नेताहरुलाई सुझाव दिइरहेका छन्। यद्यपि यो बहसमा मात्र रहेको महासचिव बेदुराम भुसालको दाबी छ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार (२४ मंसिर) पार्टी कार्यालयमा बसेको छ। अध्यक्ष माधवकुमार नेपाल आफैँ पनि पार्टी एकता संयोजन समिति बनाएर वाम घटक (माओवादी केन्द्र) लगायत कम्युनिष्ट शक्ति मिल्नुपर्ने पक्षमा रहेको एक नेताले बताए।

