महानगर दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आजोजना भएको छ । सोमबार बिहान रंगशालामा फुटबलको जर्सी लगाएर काठमाडौं महानगरपालिकाका दुईवटा टिममा प्रतिस्पर्धा भएको हो ।
एउटा टिमको नेतृत्व मेयर बालेन्द्र साह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबल थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरु थिए ।
प्रशासकीय अधिकृत ११ मा चाहीँ महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।
टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तराद्र्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । बालेनले मध्यक्रमबाट खेलेका थिए । यद्यपि, उनमा फुटबल खेल्ने खासै सीप देखिएन ।
महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रंगाशामा उपस्थित थिइन् । तर उनी खेलाडीका रुपमा मैदान प्रवेश भने गरिनन् । उनले बाहिरै बसेर बालेनको टिमको पक्षमा हुटिङ गरिन् ।
खेलको अन्तिम नतिजामा ६-१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो । यो फुटबल भिडन्त नियमसंगत तरिकाले खेलाइएको भने देखिएन । दुवै टिमका गरी ५० जना भन्दा बढी खेलाडी मैदानमा छिरेका थिए ।
महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हरेक वर्ष यस्तो मैत्रिपूर्ण फुटबल खेल आयोजना गर्दै आएको छ ।