नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सुटुुक्क उत्तर कोरियाली दूतावास छिरेका छन् । पूर्व प्रधानमन्त्री नेपाल मंगलबार विहान उनी झम्सिखेलस्थित उत्तर कोरियाली दूतावास पुगेका हुन् ।
स्रोतका अनुसार उत्तर कोरियाली नेता किम जोङ इलको स्मृतिसभामा भाग लिन नेपाल झम्सिखेलस्थित उत्तरकोरियाली दूतावास गए पनि परराष्ट्र मन्त्रालयलाई भने यसको कुनै जानकारी छैन ।
उत्तर कोरियाली दूतावासले अध्यक्ष नेपाललाई स्मृतिसभाको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेको थियो तर यो विषयमा नेपालको परराष्ट्र मन्त्रालयलाई भने केही जानकारी गराइएको छैन ।
नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाललाई दूतावासमा स्वागत गरेका थिए । यस अगाडि राजदूत जोले मंसिर २३ गते कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए ।
उत्तर कोरियाली नेता किम जोङ इलको सन् २०११ डिसेम्बर १७ मा नि’धन भएको थियो। किम जोङ इलले सन् १९९७ अक्टुबर ८ देखि २०११ डिसेम्बर १७ सम्म उत्तर कोरियामा शासन गरेका थिए ।
किम जोङ इल उत्तर कोरियाका अहिलेका शासक किम जोङ उनका पिता हुन् । अध्यक्ष नेपालले नेपाल–उत्तर कोरिया सम्बन्ध र उत्तर कोरियाको विकाशका लागि किम जोङ इलले खेलेको भूमिकाको चर्चा गरेको स्रोतको दावी छ ।