दयाहाङ राई, एउटा यस्तो पनि बेला थियो, जुन बखत दयाहाङ राईको नामले मात्र पनि दर्शकलाई हलसम्म डोहो¥याउँथ्यो । निसन्देहः रंगमञ्चको धरातलबाट आएका उनी नेपाली सिनेमाका उम्दा अभिनेता हुन् ।
चिम्सा आँखा, बटुलो अनुहार, खस्रो छाला, मझौला ज्यान अर्थात मंगोल वर्णका दयाहाङ भोजपुरको खावा गाउँमा जन्मिएका हुन्, २०३७ सालमा । भर्खरै मात्र उनले आफ्नो जन्मदिन मनाएका छन् । उनै दयाहाङको जन्मदिनको मेसोमा यहाँ उनका केही रोचक कुराहरु प्रस्तुत गरिएको छ ।
विदेश जान भनी घर छाडे कलकलाउँदो उमेरसम्म दयाहाङ गाउँमै बसे । गाईबस्तु स्यहारे । खेतीपाती र गोठालो गर्दै किशोर उमेर गुजारे । गाउँकै विद्यालयबाट एसएलसी सकाएर भोजपुर बहुमुखी क्याम्पसमा भर्ना भए । त्यहाँ आइएसम्म पढेपछि उनी काठमाडौं जान चाहन्थे ।
किनभने उनलाई कला–मनोरञ्जनमा औधि चाख थियो । अन्ततः घर परिवारका सदस्यलाई उनले भने, ‘म अब विदेश जान्छु ।’ परिवारको मञ्जुरीपछि उनले बाटो तताए । वास्तवमा दयाहाङ बिदेश जान होइन, काठमाडौंमै ‘केही गर्न’ चाहन्थे । काठमाडौं आएपछि नाटक खेल्ने, लेख्ने कर्ममा लागे ।
लक्का जवान हुँदासम्म गाडी देखेकै थिएनन् ग्रामिण भेग एवं दूरदराजलाई अझैपनि सडक सञ्जालले जोडिसकेको छैन । यस्ता थुप्रै ठाउँ छन्, जहाँ गाडीको अनुहार नै देख्न पाइदैन । दयाहाङ राईको हकमा पनि यस्तै भएको रहेछ । एकपटक दयाहाङले रमाइलो प्रसंग उप्काएका छन् ।
उनका अनुसार १७ बर्षको उमेरसम्म गाडी देख्नै पाएका थिएनन् । गाउँमै बसेको र किशोर उमेरसम्म पनि गाउँ छाडेर अन्यत्र कतै नगएकाले उनले गाडी देख्न पाएनन् । दयाहाङले भनेका छन्, ‘१८ बर्षको उमेरसम्म गाउँमै बसें । कलेज पनि गाडीको बाटो नभएको ठाउँमा पढें । १७ बर्षको उमेरसम्म गाडी चढ्न त के, देख्न पनि पाइन ।’
लाहुर जाने लहड पहाडमा खासगरी किरात समुदायमा लाहुरेको रवाफ लोभलाग्दो छ । अक्सर युवाहरु लाहुर जाने सपना पाल्छन् । यसबाट कसरी अपवाद हुन्थे दयाहाङ राई । उनले एक अन्र्तवार्तामा भनेका छन्, ‘मलाई आर्मी असाध्यै मन पर्ने ।
लाहुरे बन्न मन लाग्थ्यो । तर, लाहुरे बन्न कठिन शारीरिक छनौट प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । त्यस्तो कुरामा भने म कमजोर थिएँ । त्यही कारण लाहुरे बन्ने बाटो छाडिदिएँ ।’ संघर्षका दिनमा श्रीमती अगाडि जतिबेला बेनुका राईसँग दयाहाङको भेट भयो, त्यसबेला उनीहरुको स्थिती ठीक उल्टो थियो । त्यसताका बेनुकाले गायनबाट आफ्नो चिनारी बनाइसकेकी थिइन् ।
दयाहाङ भने संघर्षरत नै थिए । कतिपय साहित्यिक कार्यक्रममा उनीहरु एकसाथ जान्छे । त्यही क्रम बाक्लिदै गएपछि बेनुका र दयाहाङको प्रेम बस्यो । त्यसताका बेनुका गीत रेकर्डिङ, कन्र्सट आदिमा व्यस्त हुने भएकाले विवाह पछि पनि यसरी नै समय नमिल्ने हो कि भनी उनीहरु कुराकानी गर्थे । तर, विवाहपछि ठीक उल्टो भयो । दयाहाङको सफलताको ग्राफ आकासियो । उनी चर्चित र व्यस्त भए ।