कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । भावी प्रधानमन्त्रीका आकांक्षी पौडेल र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज वार्ता भएको हो ।
आज भएको ‘वान टु वान’ भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरेका थिए । स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।
साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको उनले बताए । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे ।
तर, देउवाले फेरि आफूू नै प्रधानमन्त्री बनेर देशलाई योगदान दिने र पौडेललाई राष्ट्रपति दिने आश्वासन दिएका थिए । जवाफमा पौडेल अब त हुँदै हुन्न प्रधानमन्त्री नै बन्छुु भनेको स्रोतले बतायो ।
तर, पौडेल भने प्रधानमन्त्रीको लागि बार्गेनिंग गरेपनि राष्ट्रपतिमा पनि राजी हुने स्रोतले जनाएको छ ।

