नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कास्की पुुगेर नौलो घोषणा गरेका छन् । बुधबार आफै जन्मेको कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर-१ को श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवमा पुगेर प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका हुन् ।
उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न सक्ने बताए । ‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रोपटक मधेशबाट लडें ।
यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’
यो निर्वाचनमा आफू देशभरि डुलेर निर्वाचनको माहोल बनाएको प्रचण्डले सुनाए । ‘म यस्तो नेता बनेको छु जो यो निर्वाचनमा पूर्व पश्चिम डुलेर निर्वाचनको माहोल बनाए । त्यो सफल पनि भयो,’ प्रचण्डले भने ।

