नयाँ सरकार गठनका लागि सांसद संख्याको जोडघटाउ भइरहेका बेला नेपथ्यमा भने राष्ट्रपति पदमा गैरराजनीतिक व्यक्ति ल्याउने प्रपञ्च भइरहेको छ ।
शक्ति पृथकीकरणको सिद्धान्तविपरीत एक दशकअघि न्यायपालिका र कार्यपालिकाको प्रमुख भएका खिलराज रेग्मी वा त्यस्तै व्यक्तिलाई राष्ट्रप्रमुख बनाउन नाटकीय गृहकार्य भएको हो ।
संविधान जारी भएपछि दोस्रो निर्वाचन सम्पन्न भएर मुलुक विधिको शासनमा अघि बढ्न खोजिरहेका बेला रेग्मी वा सोसरहका व्यक्तिलाई राष्ट्रप्रमुख बनाए संसदीय राजनीति र जनमतको अपमान हुने भन्दै कांग्रेसकै नेताहरूले सुझाव दिँदादिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भने कदम बढाइसकेका छन् । यही सन्दर्भमा उनले मंगलबार साँझ रेग्मीसँग बालुवाटारमा संवाद पनि गरिसकेका छन् ।
साँझ साढे पाँच बजे बालुवाटार पुगेका रेग्मी करिब डेढ घण्टापछि बाहिरिएका थिए । कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री देउवा र रेग्मीबीच भेटघाट भएको पुष्टि गर्दै छलफलको विषय भने आफूलाई थाहा नभएको बताए ।
‘प्रधानमन्त्रीलाई भेट्न मंगलबार पाँच बजे म बालुवाटार पुगेको थिएँ, आधा घण्टापछि रेग्मी आउनुभयो, त्यसपछि म निस्किएकाले संवादको विषय थाहा भएन,’ निधिले भने, ‘रेग्मीसँग नमस्कार आदानप्रदान गरेर म निस्किएको हुँ ।’
प्रधानमन्त्रीका अर्का सहयोगीले भने राष्ट्रपतिमा कसलाई ल्याउने भन्ने सन्दर्भमा नै यो भेटघाट भएको बताए । ‘राष्ट्रपतिमा कसलाई ल्याउन उचित होला भनेर प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ ।
अन्य व्यक्तिलाई पनि भेट्नुभएको छ, त्यही सन्दर्भमा रेग्मीसँग पनि मंगलबार संवाद भएको हो,’ उनले भने । आजको कान्तिपुुर दैनिकमा कुुलचन्द्र न्यौपानेले यो समाचार लेखेका छन् ।

