विसं ०७४ साल फागुन २९ गते उनी दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल उत्तरार्धमा छ । उनको कार्यकाल सकिन अब केही महिना मात्रै बाँकी छ।
हाल उनी राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा बसिरहेकी छिन् । तर, कार्यकाल सकिएपछि भण्डारी आफ्नै निजी निवासमा सर्ने तयारी भईरहेको छ। स्रोतको अनुसार राष्ट्रपतिबाट हटेपछि भण्डारी कुनै पनि सरकारी सेवा–सुविधाको उपभोग नगर्ने मनस्थितिमा छिन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले जस्तो सरकारी आवासको खोजी नगरी उनी बूढानीलकण्ठ नगरपालिका चपलीमा रहेको आफ्नै घरमा बस्नेछिन् ।
उनका घर रंगरोगनको काम समेत सुरु भएको छ। भण्डारीले केही समय अघि नै बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंग रोगन गर्न निर्देशन दिएकी थिईन।
भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन। उनी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो महिला पनि हुन।
उनी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी थिईन। उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुन।

