नयाँ सरकार गठनका लागि दलहरूबीच गृहकार्य भइरहेका बेला त्यसमा सहभागी हुने या नहुने विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दुई धार देखिएका छन्।
स्रोतका अनुसार रास्वपाका केही सांसदले सरकारमा जाने इच्छा देखाएका छन्। यस विषयमा उक्त पार्टीले औपचारिक रूपमा भने केही निर्णय गरेको छैन। तर रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीले चुनावी घोषणापत्रमार्फत उठाएका मु’द्दा सम्बोधन हुने अवस्था आए सरकारमा सहभागी हुन सकिने बताए।
‘घोषणापत्रमा हामीले उठाएका मु’द्दा सम्बोधन गर्न अन्य पार्टीले सहमति जनाए भने हामीले बाहिरै बसेर पनि नयाँ सरकारलाई समर्थन गर्न सक्छौं, सरकारमै सहभागी हुन पनि सक्छौं,’ प्रवक्ता ढकालले भने। सरकारमा जाने विषयमा सबै पक्षसँग औपचारिक अनौपचारिक कुराकानी भइरहेको उनले बताए।
स्रोतका अनुसार सरकारमा सहभागी हुने र नहुने विषयलाई लिएर रास्वपामा दुई धार देखिएका छन्। एउटा धार वर्तमान सत्ता गठबन्धनको पक्षमा र अर्को धार सरकारमा नगई बाहिर बस्नुपर्छ भन्ने देखिएको छ।
वर्तमान सत्ता गठबन्धनको पक्षमा देखिएका रास्वपाका केही सांसद यही गठबन्धनले बनाउने नयाँ सरकारमा जान इच्छुक देखिएको स्रोतको दाबी छ। प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्ष ७ र समानुपातिक १३ गरी २० सांसद छन्।
रास्वपा अध्यक्ष रवि लामिछानेले भने सरकारमा जानेनजाने विषयमा केही बोलेका छैनन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

