रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई बोल्न मनाही गरिएको छ । सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको हो।
अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो।
‘सपथ निलिई अहिले नै मिडियासँग नबोल्ने भन्ने पार्टीको आग्रह छ,’ स्रोतले भन्यो । मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको यो दलका २० सांसद छन्।
सांसदहरुले आफूअनुकुलको विचारबारे ब्याख्या गरिरहेका छन्। त्यहीकारण सभापति रविको योजना र सांसदको धारणा नमिल्दा पार्टीमा अहिले नै दुई धार देखा परिसकेको छ।
उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको हो। उक्त निर्णयबारे पार्टीका अर्का एक पदाधिकारीले पनि पुष्टि गरेका छन्।

