राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार कार्यालय खुुलेपछि नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेकी छिन् । निर्वाचनमा सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार, दोस्रो ठूलो दल एमाले सरकार गठनको लागि आन्तरिक तयारीमा छन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ ।
माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् । गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आकलन गरिएको छ ।
यदि माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले वि’द्रोहबाट जन्मिएको एकीकृत समाजवादी कता लाग्छ भन्ने विषय थप रोचक बनेको छ ।
तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो ।
सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र बेस्सरी पेलेपछि उनी पार्टी फुटाउन तयार भए । कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए ।
माओवादी एमालेसँग मिल्न गए पनि आफूहरू यथास्थितिमा एमालेसँग सहकार्य नगर्ने उपमहासचिव गंगालाल तुलाधर बताउँछन् । उनले एमाले अध्यक्ष ओलीले आत्मालोचना गरेर विगतमा गरेका गल्तीहरूमा क्षमायाचना गरे मात्र सहकार्यबारे सोच्न सकिने तर ठोकुवा गरेर भन्न सक्ने अवस्था नरहेको बताए ।