प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन गराउन लागेका छन् । डा। शेखर कोइराला र महामन्त्री गगन थापाहरुले दलको नेताका लागि दबाब बढाउन थालेपछि देउवाले यस्तो तयारी थालेका हुन्।
कांग्रेसले संसदीय दलको निर्वाचन तयारीका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार बसेको छ। ‘सभापतिजीले भोलि नै दलको चुनाव गराउने प्रयास गर्नु भएको छ’, देउवानिकट एक नेताले भने, ‘चुनावमा जाँदा हाम्रो दलको एउटा प्रक्रिया छ। निर्वाचनमण्डल बनाएपछि त्यसले मिति तोक्ने गर्छ। त्यसो गर्दा पर्सिसम्म चुनाव हुन्छ होला।’
आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ। प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिइसकेका छन्।
त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेताबारे अझै सहमति भएको छैन।
संस्थापनबाट देउवा फेरि प्रधानमन्त्रीको दौडमा छन्। त्यस्तै इतरबाट कोइराला र थापाले पनि संसदीय दलको नेताका रुपमा आफूलाई अघि सारेका छन्।

