नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्वको इच्छा जाहेर गरेपछि देश विदेशमा चर्चाको बिषय बनेको छ । चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाले ‘मास्टहेड’मै उनको तस्वीर सहितको समाचार छापेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेको र प्रचण्डले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर पहिलो कार्यकाल प्रधानमन्त्रीमा दाबी गरेको विषयलाई टाइम्स अफ इन्डियाले प्राथमिकताका साथ छापेको हो ।
मास्टहेडमा प्रचण्डको तस्वीरसँगै टाइम्स अफ इन्डियाले देउवासँग भेटेर उनले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेको तथा गठबन्धनलाई निरन्तरता दिने विषयमा दुई नेताबीच छलफल भएको लेखेको छ ।
समाचारमा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको विषयसँगै देउवा प्रचण्डको भेटलाई महत्त्वका साथ उल्लेख गरिएको छ ।
प्रचण्डले देउवासमक्ष प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेको र त्यो अपेक्षित नै भएको भन्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको प्रतिक्रियालाई पनि समाचारमा स्थान दिइएको छ ।
राष्ट्रपति भण्डारीले आइतवार ७ दिनको समय दिएर नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।


