नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव नेपाल चयन भएका छन्। उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएर नेकपा एसले संसदीय दलको नेता छनोटका लागि सोमबार बैठक गरेको थियो।
बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए। नेकपा एसको संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला छानिएका छन्।
प्रतिनिधिसभामा समाजवादीका १० सदस्य निर्वाचित भएका थिए। यता, गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले राष्ट्रपति दाबी गरेको छ ।
एकीकृत समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकमा गठबन्धनबीच ‘पावर सेयरिङ’ हुँदा राष्ट्रपति बटमलाइन बनाउने विषयमा छलफल भएको छ । सचिवालय बैठकमा राष्ट्रपतिमा बलियो दाबी गर्ने विषयमा सबै नेता एकमत देखिए ।
राष्ट्रपति दाबी गर्ने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले प्रधानमन्त्री भने दाबी नगर्ने भएको छ । ठूलो दलको हैसियतका आधारमा कांग्रेस र माओवादीलाई प्रधानमन्त्री पद छोड्ने सचिवालय बैठकको निष्कर्ष रहेको छ ।
अध्यक्ष नेपालले बैठकलाई ब्रिफिङ गर्दै गठबन्धनबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा प्याकेजमा सहमति गर्न लागेको बताएका थिए ।
राष्ट्रपति पदलाई बटमलाइन बनाउने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर, औपचारिक अनौपचारिक रुपमा सम्मानित नेता झलनाथ खनालको नाम राष्ट्रपतिका लागि चर्चामा रहेको छ ।
एकीकृत समाजवादीले राष्ट्रपति पदलाई बटमलाइन बनाए पनि गठबन्धनबीच भागबन्डा हुँदा सभामुख पाउने अनुमान हुने गरेको छ ।