मंसिर ७ गते अर्थात बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी अघि बढेको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले राष्ट्रपति कार्यालयलाई यसबारे पत्र पनि पठाइसकेका छन् ।
जसअनुुुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् ।
नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो ।
संघीय संसद् सचिवालयका एक सहसचिवका अनुसार निर्वाचन आयोगबाट नागरिकताको प्रमाणपत्र झिकाएर हेर्दा केसीभन्दा जबरा ज्येष्ठ पाइएका हुन् ।
नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादव सबैभन्दा बढी उमेरको भए पनि उनले शपथ गराउने छैनन् ।
उनले नागरिकतामा वास्तविकभन्दा बढी उमेर राखेको स्वीकार गरेर संसद्मा ज्येष्ठ सदस्यले सबै सांसदलाई शपथ गराउँदा अनुपस्थित रहनेछन् ।
२०७४ को प्रतिनिधिसभामा पनि यादव अनुपस्थित रहेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए । यसपटक भने चित्रबहादुर केसी र पशुपतिशमशेर जबरामध्ये को ज्येष्ठ सदस्य, टुंगो लागेको थिएन ।
ती सहसचिवले भने, ‘महिन्द्र राय यादवले शपथ नगराउने आशय व्यक्त गर्नुभयो । पशुपति शमशेर जबरा केसीभन्दा १ महिना २६ दिनले ज्येष्ठ देखिनुभयो ।
वि। सं। १९९९ माघ २४ गते चित्रबहादुर केसीको देखिन्छ । २०३० मंसिर २४ गते ३२ वर्ष पुगेको नागरिकता पशुपति शमशेरको जारी भएको पाइयो । उहाँहरूबीच १ महिना २६ दिनको अन्तर छ ।’

