नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व दावी गरिरहेकाले भावी प्रधानमन्त्रीको उम्मेदवारबारे विभिन्न चर्चा चलेको छ । संसदको सबैभन्दा ठूलो शक्ति नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको बलियो दावेदार छन् ।
संसदमा माओवादीको उपस्थिति निर्णायक रहेकाले उसलाई बाहिर राखेर सरकार बन्ने सहज अवस्था नरहेकाले प्रचण्डको दावी स्वभाविक देखिन्छ । त्यसो त,गठबन्धनभित्र प्रधानमन्त्रीमा आलोपालो सहमति भैसकेको स्वयं प्रचण्डले नै सार्वजनिक गरेका छन्।
आलोपालो गर्न सहमत भए पनि पहिलो खेपमा को प्रधानमन्त्री हुने भन्नेमा भने विवाद देखिन्छ । उमेरले ८० पुगिकेकाका देउवाले मुखै खोलेर अर्को दुई वर्ष कुर्न नसक्ने प्रचण्डलाई सुनाइसकेका छन् ।
सरकार बनाउन अहिले नै ‘भ्यागुताको धार्नी’ पुर्याउनुपर्ने अवस्था रहेकाले दुई वर्षपछि प्रधानमन्त्री हुनेमा प्रचण्ड पनि ढुक्क छैनन् । त्यसकारण अहिले नै प्रधानमन्त्री बन्न उनले बढी जोडबल गरेको प्रष्टै बुझिन्छ ।
यही अप्ठेरोका बीच सात दिनभित्र प्रधानमन्त्रीको उम्मेदवार फाइनल गर्नुपर्ने दबाबमा परेका गठबन्धनका नेताहरुले दुवै तहका सरकारको नेतृत्वसहित पावर शेयरिङ प्याकेजमै गर्ने तयारी थालेको चर्चा छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दावी बढाएपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले भागबण्डाको सहमति प्याकेजमै गर्नुपर्ने अडान राखेको बताइन्छ ।
यता,गठबन्धनभित्र दुवै तहका सरकारको नेतृत्वसहित प्रमुख पदहरुमा प्याकेजमै सहमति जुटेको विश्वस्त स्रोतले दावी गरेको छ । उक्त स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रबीच अढाई-अढाई वर्ष सरकारको नेतृत्व गर्ने पूर्वसहमतिअनुसार पहिलो खेपमा देउवालाई प्रधानमन्त्री दिन प्रचण्ड राजी भएपछि सहमति बनेको हो ।
सरकारको नेतृत्व कांग्रेसले पाउँदा माओवादीले सभामुखसहित महत्वपूर्ण मन्त्रालय लिने र एकीकृत समाजवादीलाई राष्ट्रपति दिने मोटामोटी सहमति जुट स्रोत दावी गर्छ । सहमतिअनुसार उपराष्ट्रपति माओवादी र उपसभामुख कांग्रेसको भागमा परेको छ ।
प्रदेशको हकमा काँग्रेसले चार र माओवादीले दुई अनि समाजवादीले १ प्रदेशको सरकारमा नेतृत्व लिने सहमति जुट्न सक्ने स्रोत बताउँछ ।
हिजोसम्म प्रधानमन्त्रीमै रस्साकस्सी गरिरहेका दलहरुबीच रातारात यस्तो सहमति कसरी सम्भव भयो रु गोप्य स्रोतका अनुसार भारतीय दूतावासले यसमा भूमिका खेलेको छ ।
नेपालको सत्ता समीकरण मिलाइदिन भारतीय खुफिया एजेन्सी र का दुई जना पूर्वअधिकारीहरु हिजो काठमाडौँ उत्रिएको पनि त्यही स्रोतले दावी गरेको छ । – जनआस्था